काठमाण्डू, १८ वैशाख– कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको बताएका छन । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै कांग्रेस सभापति थापाले यस्तो बताएका हुन । ‘यो सरकारसँग स्पष्ट बहुमत छ । तर, एउटा खतरनाक भ्रममा छ ।
डेमोक्रेसीमा रुल अफ ल र रुल बाइ ल दुईवटा फन्डामेन्टली फरक कुरा हुन्,’ सभापति थापाले भने, ‘कानुनको शासन र कानुनले शासन । झवाट्ट सुन्दै गर्दा एउटै लाग्छ । सुन्ने पनि झुक्किन्छ, सरकार पनि झुक्किन्छ । तर, यो फरक कुरा हो ।’ उनले लोकतन्त्रमा ‘रुल अफ ल’ अपेक्षित र वाञ्छिनीय हुने पनि बताए ।
‘डेमोक्रेसीमा अपेक्षित के हुन्छ, वाञ्छिनीय के हुन्छ, रुल अफ ल । कानुनको शासन । यसले के भन्छ सरकार कानुनको सेवक हो,’ थापाले भने, ‘रुल बाइ लले के भन्छ सरकारका निम्ति कानुन एउटा लाठी हो । डण्डा हो, जतिखेर मन लाग्यो, तयतिखेर जसको टाउकोमा हिर्काए पनि हुन्छ ।’
सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएजस्तै कांग्रेसलाई पनि जनताले पाँच वर्षका लागि प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएको पनि बताएका छन । ‘रास्वपालाई ५ वर्षका निम्ति सरकार चलाउने म्यान्डेट दिएको छ । हामी चाहन्छौं उहाँहरूले प्राप्त गरेको म्यान्डेटअनुसार ठीक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुहोस्,’ उनले भने, ‘तर, यही इलेक्सनले नेपाली कांग्रेस पार्टीलाई संघीय तहमा पाँच वर्षको निम्ति प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डडेड दिएको छ ।’
सभापति थापाले प्रतिपक्षको पनि आफ्नो जिम्मेवारी रहेको बताए । लोकतन्त्रमा प्रतिपक्षले ठीक ढंगले भूमिका निर्वाह गर्न नसके सरकारको काम जवाफदेहीतासहितको परिणाम पुर्याउने ठाउँमा लैजान नसकिने उनको भनाइ थियो ।
‘डेमोक्रेसीमा प्रतिपक्षले ठीक ढंगले भूमिका निर्वाह गर्न सकेन भने सरकारको काम जवाफदेहीता सहितको परिणाम पुर्याउने ठाउँमा लैजान सकिँदैन,’ थापाले भने, ‘यसको काम प्रश्न गर्ने हो, खबरदारी गर्ने हो, आवश्यकता परेको बेलामा प्रतिवाद र प्रतिरोध गर्ने हो । विकल्प सुझाउने काम पनि हो ।’