काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका वडा नम्बर १६ बालाजु क्षेत्रको खोला किनारमा बनाइएका घर टहरा पनि भत्काइएको छ । कतिपयले आफ्नो घर आफैं भत्काएका छन् ।
उनीहरुले घरका सामान अन्येत्र सारिरहेका छन् । सो क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी अनाधिकृत रुपले बनाइएका घर टहरा भत्काउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो ।
सो सूचना अनुसार काठमाण्डू महानगरपालिकाले माइकिङ गर्दै ठाउँ खाली गर्न अनुरोध गरेको थियो । घर भत्काउने पूर्वसूचना पाएपछि कतिपयले घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा र फर्निचर निकालेर सारेका थिए ।
आजै काठमाण्डू महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्र र वडा नम्बर ११ को वंशीघाट क्षेत्र (टेकु नजिक)मा बनाइएका अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर प्रयोग गरी भत्काइएको छ।