रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित वितरण होस्ः ओली

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते ११:३७ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्ने बताएका छन ।

आज (शुक्रबार) १३७ औं मे दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन । अध्यक्ष ओलीले एमालेले यसअघि सरकारमा रहँदा राज्यको नीति, रोजगारदाता र श्रमिकबीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको समेत बताएका छन ।

ओलीले भनेका छन, ‘हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्गबीच सन्तुलनको लागि यही निर्देशक सिद्धान्त अपनाएका छौं ।

र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौं। राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्दछ ।’

उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित वितरण होस् र देश समृद्ध बनोस् भन्ने एमालेको ध्येय रहेको भन्दै उनले संविधानले तय गरेको यो सीमाबाट आज पनि राज्य विचलित हुनुनहुने बताएका छन् ।

‘जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना,’ उनले भनेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us