काठमाण्डू, १४ वैशाख– सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको छ । त्यसमध्ये विभिन्न पदका पदावधि तोकिएको छ । आईजीको पदावधि चार वर्ष तोकिएको छ ।
अर्याल ३० वर्षे सेवाअवधि पूरा हुनुभन्दा २३ महिनाअगावै पदको अवधि पूरा गरी अवकाश हुने भएका हुन् । नवनियुक्त आईजी पौडेल र अवकाश हुने अर्याल नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा एकै मितिमा प्रवेश गरेका हुन् । उनीहरु नेपाल प्रहरीको १११ औँ टोलीका अधिकृत हुन् । उक्त टोलीको भर्ना मिति २०५४–१२–१८ हो ।
नेपाल प्रहरीका आईजी दानबहादुर कार्की पनि सोही टोलीका अधिकृत हुन् । अर्याल, पौडेलसहितका अधिकृत २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा उक्त संगठनमा समायोजित भएका थिए ।
समायोजनका क्रममा उनीहरुले प्रहरी सेवाको दर्जाको एक तह बढुवा पाएका थिए । सशस्त्रको आईजीका निम्ति पौडेलसँगै अर्का एआईजी बंशीराज दाहाल पनि प्रतिस्पर्धामा थिए ।
उनी पनि प्रहरीको १११ औँ टोलीकै अधिकृत हुन् । तर, एआईजी बढुवा हुँदा पौडेल अगाडि भए । उनको बढुवा २०७९ जेठ ६ गते भएको थियो । दाहाल भने २०७९ असोज २८ मा एआईजी बढुवा भएका थिए ।