काठमाण्डु, १९ असोज- काँग्रेस केन्द्रीय सदस्य गगन थापाले शीर्ष नेताहरु संविधान निर्माणमा गम्भीर नभएको भन्दै माघ ८ गते नै संविधान नआउने आशंका व्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लबले आइतबार गरेकोमा नेता थापाले संबैधानिक राजनीतिक संवाद तथा सहमती जस्तो जिम्मेवार समितिका सभापतिले नै माघ ८ गते संविधान नआउने खुलासा गरीसकेको उल्लेख गर्दै तोकिएकै मितिमा संविधान जारी हुन्छ भनेर दाबी गर्ने ठाउँ नभएको स्पष्ट पारेका छन् । यद्वपी थापाले सहमती भए सहमतीबाट नभए प्रक्रियामा गएरभएपनि मुलुकमा संविधान जारी गर्नुको विकल्प नभएको प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा थापाले बाहिर हल्ला भएजस्तो संविधानका अन्र्तवस्तुमा खासै विमति नभएको स्पष्ट पार्दै विमति भएका विषयवस्तुलाई प्रक्रियमा लगेर भएपनि टुँगो लगाउनुपर्ने बताएका छन् । उनले भने–‘‘दलहरुवीच शासकीय स्वरुप, राज्यको पूर्नसंरचना सबै विषयमा करिव–करिव सहमती भैसकेको छ, खाली नमिलेको विषय भनेको संघिय प्रदेशको सँख्या र नामाकरण मात्रै हो । ती विषयलाई संविधान सभाभित्र लगेर प्रक्रियामै टुँगो लगाउनुको विकल्प पनि छैन् ।’’
थापाले विवादित विषयमा सहमती कायम गर्न समय अत्यन्तै कम रहेको बताउँदै शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमती गरेर बाँकी असहमती रहेको राज्यको पूर्नसंरचनामा भने प्रक्रियामा जानुपर्ने धारणा राखेका छन् । थापाले भने–‘‘अहिले बाहिर नक्कली र कृत्रिम विवादहरु झिकेर संविधान लेखन प्रक्रियालाई अवरुद्ध पार्ने खेल भएको छ, यो आपत्तिजनक छ ।’’
उनले संविधान जारी नगरुन्जेलसम्म उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक प्रचण्डलाई दिएर भएपनि अवरुद्ध संसद सुचारु गर्नुपर्ने धारणा राखेका छन् । थापाले भने–सहमती गर्नुहुँदैन्थ्यो, सहमती गरिसकेपछि समितिको संयोजक प्रचण्डलाई दिएपनि केही फरक पर्दैन । संविधानसभालाई प्रभाव पार्छ भन्ने हल्ला निराधार भएको स्पष्ट पार्दै उनले संविधान सभाको बाटो भएर आउने कुरालाई मात्रै संविधान सभाले चिन्ने भएको हुँदा कोही पनि डराउनु नपर्ने बताएका छन् ।
थापाले प्रक्रियामा गएर संविधान जारी गरे राजीनामा दिन्छु भन्ने बाबुराम भट्टराईको भनाईलाइ अराजनीतिक भएको टिप्पणी समेत गरेका छन् ।