काठमाण्डु, १८ असोज एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सबै पार्टीबीच संघीयता र शासकीय स्वरुपमा सहमति हुने सम्भावना नरहेको उल्लेख गर्दै प्रक्रियामा गएर भएपनि मुलुकलाई माघ ८ गते संविधान दिनुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा भएको कार्यक्रममा ज्ञवालीले अहिले पनि दलहरुबीच सहमति कायम गर्न अधिक प्रयास जारी रहेको बताउँदै सहमति नभए प्रक्रियामा जानुको विकल्प नरहेको बताए ।
एमाले पहिचानसहितको संघीयताको पक्षमा रहेको बताउँदै भूगोलका आधारमा साझा पहिचानसहितको संघीयता हुनुपर्ने उनको भनाइ थियो । ज्ञवालीले सत्तारुढ काँग्रेस र एमालेबीच शासकीय स्वरुप र संघीयतामा साझा दृष्टिकोण बनिसकेको बताउँदै एकीकृत माओवादीलाई पनि आफूहरुकै एजेण्डामा सहमत गराउने प्रयास भइरहेको जानकारी दिए ।
एमाओवादीलाई सहमतिमा ल्याउन नसके संविधान सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुबीच सहमति गरेर अघि बढ्ने जनाए । नेपाली जनतालाई कुनै हालतमा पनि संविधान दिनुपर्ने भएकाले प्रक्रियामा जानुको विकल्प नरहेको जिकिर उनले गरे ।
ज्ञवालीले एमाले सात प्रदेशको पक्षमा रहेको भन्दै त्यसभन्दा माथि जान नसकिने प्रष्ट्याए । शासकीय स्वरुपबारे एमाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिको पक्षमा रहेको तर त्यसमा सहमतिका लागि हदैसम्म लचकता अपनाउन तयार रहेको बताए ।
ः