योगेश भट्टराईको कविता- बादल मडारियो, हामी हेरेको हेर्यै

काठमाण्डु टुडे २०८२ चैत २६ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, २६ चैत– एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिका कारण आन्तरिक विवाद साम्य नभइरहेका बेला एमाले उपमहासचिव योगेश भट्टराईले व्यंग्यात्मक शैलीमा कविता लेखेका छन ।

कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर उनले ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–

बादल मडारियो

मुसलधारे वर्षा भयो

जबज निथ्रुकै भिज्यो

मदन तीन छक्क पर्नुभयो

हामी हेरेको हेर्यै भयौ

(स्वाट्ट बिउंझिएको त कोठामा घाम छिरिसकेको रहे)

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता समेत चुनिएका बादलले प्रतिनिधि सभाको १९ चैतको बैठकमा सम्बोधन गरेको विषय विवादित भएको थियो ।

उनले निर्वाचन परिणामलाई लिएर सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायलाई पनि दोषारोपण गरेका थिए । साथै ऐतिहासिक जितका लागि रास्वपालाई बधाई दिएका थिए ।

लगत्तै उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्ति पार्टीका स्थापित नीति र मान्यता विपरीत भएको भनेर फेसबुकमा लेखेका थिए । भोलिपल्ट बसेको सचिवालय बैठकमा बादलको आलोचना समेत भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us