काठमाण्डू, २५ चैत- पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झुठा प्रचारबाजी भएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार साँझ देउवाले भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अवधारणा ल्याउने व्यक्ति आफू भएको उल्लेख गरेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि देउवा बोलेका हुन् ।
‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ । म र मेरो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु’, उनले लेखेका छन् ।
अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न देउवाले सबैमा अपिल गरेका छन् ।
नेपालको कानूनअनुसार आफू र आफ्नी पत्नी आरजुले सार्वजनिक पदमा रहँदा सम्पत्त विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उनले उल्लेख गरेका छन् ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने मान्यताका लागि आफूले सिंगो जीवन संघर्षमै व्यतित गरेको र आफ्नो जीवन खुल्ला पुस्तकका रूपमा रहेको दाबी गरे ।
‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन-२०५९ लागू भएको सर्वविदित नै छ’, देउवाले अगाडि लेखेका छन् ।