विष्णु पौडेललाई रामबहादुर थापा बादलको जवाफः मैले सदनमा बोलेको कुरा पार्टीको लाइन हो

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:४८ मा प्रकाशित

काठमाण्डू, २५ चैत– एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीभित्रको अन्तरसंघर्षबारे आफ्नै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललक्षित कटाक्ष गरेका छन ।

आज (बुधबार) एमाले कास्कीले पोखरामा गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले संसदीय दल नेताको हैसियतमा संसदमा गरेको सम्बोधनले देशभित्र, बाहिरका र पार्टीका दुस्मनहरू ‘एक्स्पोज’ भएको बताएका हुन् ।

बादलले संसदमा आफूले दिएको अभिव्यक्तिपछि उपाध्यक्ष विष्णु पौडेलले लेखेको स्टाटस उद्धृत गर्दै अन्तरसंघर्षको पाटो खुलेको समेत बताए । ‘अस्ति संसद्को पहिलो बैठकमा मैले दलको नेताको हैसियतमा जे कुराहरू भनेँ, त्यो कुरालाई लिएर केन्द्रीय सचिवालय बैठक बस्यो । केन्द्रीय सचिवालयले फेरि अर्को एउटा वक्तव्य जारी गर्‍यो’, बादलले भने, ‘त्यो वक्तव्य आइसकेपछि त्यसले अर्को कन्फ्युजन क्रिएट गरेको छ ।

त्यो वक्तव्य दलको नेताले मैले दिएको थिएँ, त्यसले भित्र पनि एउटा कन्फ्युजन क्रिएट गरेको देखियो ।’ गत बिहीबारको प्रतिनिधिसभा बैठकमा बादलले राखेको धारणाप्रति उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सचिवालय बैठकले उचित निर्णय गर्ने बताएका थिए । तर, थापाले संसदीय दलको नेताका हैसियतले आफूले संसदमा व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताअनुरुप रहेको दाबी समेत गरे । ‘को–को मान्छेहरू त्यो वक्तव्यबाट उत्तेजित भएर, भित्र लुकेका को–को मान्छेहरू बाहिर देखिए ।

किनभने त्यो स्टेटमेन्टले पार्टीभित्रको दक्षिणपन्थी प्रवृत्तिलाई एक्सपोज गरेको मात्र हो’, बादलले थपे, ‘मैले सदनमा पार्टीको लाइनमा बोलेको हो, पार्टी निर्णय दृढतापूर्वक लागू गरेको थिएँ । देश र जनताका दुस्मनलाई ठुलो आक्रमण थियो र लुकेका दक्षिणपन्थीलाई पनि आक्रमण थियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us