प्रतिनिधि सभामा रास्वपा र एमालेबिच नोकझोक

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:४० मा प्रकाशित

काठमाण्डू, २५ चैत– आज (बुधबार) बसेको प्रतिनिधि सभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रतिपक्षी दल नेकपा एमालेबिच नोकझोक सुरु भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा रास्वपा सांसद पुरुषोत्तम यादवले व्यक्ति गरेको धारणालाई लिएर नोकझोक सुरु भएको हो । सांसद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता रामबहादुर थापा बादललाई भूतले छलेको भन्दै भूत झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने टिप्पणी गरेका थिए । ओली एमाले अध्यक्ष हुन् र बादल अहिले संसदीय दलको नेता छन् ।

यादवले बैठकमा भनेका थिए, ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूत आज कमरेड बादललाई पनि छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस् । आज कारागारको ढोका भित्र हुनुपर्ने अपराधी हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदै छ ।’

उनको त्यो भनाइप्रति एमाले सांसद गुरु बरालले सभामुख डोलप्रसाद अर्यालसँग समय नै लिएर नियमापत्ति जनाए । बरालले प्रतिनिधि सभाको नियमावली अनुरुपको असिस्ट व्यवहार बोलीचालीको सन्दर्भमा रहेकाले हटाउन माग गरे ।

उनले भने, ‘हाम्रो पार्टीको अध्यक्ष पूर्वप्रधानमन्त्रीलाई अत्यन्त आपत्तिजनक अपराधीको संज्ञा सत्ता पक्षका सांसदले दर्ज गर्नुभयो । अपराधी करार गर्ने यो संसद् होइन, अपराधी न्यायालयले करार गर्छ ।’ झाँक्री, धामीको व्यवस्था गर्ने रुढीवादी माग गर्नुभएकोमा पनि आपत्ति छ ।

उनले एमाले दलको नेता बादलमाथि पनि अपाच्य शब्द प्रयोग गरेको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरे। बरालको धारणा सुनेपछि सभामुख अर्यालले सदनको ध्यानाकर्षण भएको बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us