चैत २७ मा उपसभामुखको निर्वाचन

काठमाण्डु टुडे २०८२ चैत २५ गते १६:०० मा प्रकाशित

काठमाण्डू, २५ चैत– प्रतिनिधि सभाको उपसभामुख पदको लागी यही २७ चैतमा निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी गराएका हुन ।

यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।

जसअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेको हो । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ । तर, प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एक भन्दा बढी दल भएपनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ । प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।

प्रतिनिधिसभामा रास्वपा दुई तिहाइ नजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद् छन् । यसकारण अब रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुखमा निर्वाचित हुन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us