काठमाण्डू, २५ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु गरीएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरेर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी सुरु गरीएको हो ।
प्रहरी प्रधान कार्यालय स्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) बाट नोटिस जारी हुने प्रावधान छ । पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. राणाको विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ ।
देउवा दम्पतीको इस्यु अनुसन्धानकै क्रममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले रातोपाटीलाई बताए । उनले भने, ‘त्यो सबै विषय अनुसन्धानकै प्रक्रियामा छ । देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको विषय महानिर्देशक ठाकुरले अस्वीकार गरेका छन् । तर, विभागका एक जना अधिकृतका अनुसार जिल्ला अदालत काठमाण्डूबाट नभएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नै पुर्जी जारी गरेर देउवा दम्पतीको यात्रा विवरण अध्यागमन विभागसँग मागेको छ ।
अध्यागमन स्रोतका अनुसार आरजु २०८२ फागुन १० मा भारत र शेरबहादुर देउवा २०८२ फागुन १३ मा सिंगापुर गएको देखिन्छ । देउवा दम्पती हाल हङकङमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरूले अध्यागमन विभागबाट एक साताअघि नै उनीहरूको यात्रा विवरण ल्याएको बताइएको छ । यात्रा विवरणमा विदेश गएको पुष्टि भएपछि उनीहरू विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने कानुनी व्यवस्था छ ।
नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)को आग्रहमा इन्टरपोल महासचिवालयबाट विभिन्न प्रकारका नोटिस जारी गरिन्छ । अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन जारी गरिन्छ । अदालतबाट वारेन्ट जारी नभएको अवस्थामा गरिने ‘सूचनात्मक परिपत्र’ नै डिफ्युन हो । इन्टरपोल महासचिवालयबाट जारी गरिने डिफ्युजन कै आधारमा मात्र आरोपी पक्राउ पर्दैनन् ।
खोजी सूचीमा रहेका आरोपी डिफ्युजनबाट लोकेट भएपछि पक्राउका लागी रेड नोटिस जारी गर्ने गरिन्छ । अपराध अनुसन्धान गर्न रेड नोटिस र डिफ्युजन जस्तै अन्य ८ प्रकारका नोटिस जारी गरिन्छ । इन्टरपोलको सदस्य संगठनहरुको आग्रहमा फ्रान्सको लियोन स्थित इन्टरपोल महासचिवालयबाट त्यस्ता नोटिस जारी गरिन्छ । १९६ देशका प्रहरी संगठन इन्टरपोलका सदस्य छन् ।