काठमाण्डू, २४ चैत– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन ।
डा. भट्ट यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका थिए । उनलाई गभर्नर नियुक्त गर्न कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले निर्देशकबाट राजीनामा गराएका थिए ।
कांग्रेस सभापति देउवाले उनलाई गभर्नर नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर दबाब दिएका थिए । ओलीले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट डा. भट्टको राजीनामा स्वीकृत नभएको कारण देखाउँदै उनलाई गभर्नर बनाउन अस्वीकार गरे । गभर्नरको दौडमा डेपुटी गभर्नर निलम ढुंगाना आफै प्रतिस्पर्धी थिइन् ।
त्यसैले उनले भट्टको राजीनामा स्वीकृत गरिनन् । महिनौंसम्म यो विवाद चलिरहेपछि तत्कालीन सत्ता साझेदार दलहरु कांग्रेस र एमालेले मध्यमार्गी बाटो निकाले ।
उनले अर्को नाम प्रस्ताव गर्न आग्रह गरेपछि कांग्रेसले वैकल्पिक उम्मेदवारका रुपमा डा. विश्व पौडेललाई अघि सार्यो । फलस्वरुपः ६ जेठ २०८२ मा गभर्नर सिफारिस समितिकै सदस्य डा. पौडेल गभर्नर नियुक्त भएका थिए । जबकी पौडेल गभर्नर बन्न इच्छुक थिएनन् ।