१ लाख ४० हजार घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २४ गते १२:२३ मा प्रकाशित

काठमाण्डू, २४ चैत– नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार इन्जिनियर दासले चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर राखेर लाइन छाडिदिने भनेर सेवाग्राहीसँग घुस मागेको भन्दै उजुरी परेको थियो ।

त्यस आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले दासलाई घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बाट सोमबार नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us