एमाले महासचिव पोखरेलको प्रश्नः हिजो विरोध गर्नेले अहिले विदेशी ऋण किन लिएको ?

काठमाण्डु टुडे २०८२ चैत २४ गते १२:१९ मा प्रकाशित

काठमाण्डू, २४ चैत– एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न गरेका छन ।

हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले सरकारसँग जवाफ समेत माग गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एक टिप्पणी लेख्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको यथार्थलाई भने स्वीकार गरेका छन् । तर, पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले नै अहिले संसदमा स्पष्ट नीति र प्राथमिकतासमेत नराखी ऋण लिइरहेको उनले बताए ।

एमाले महासचिव पोखरेले सामाजिक सञ्जालमा लेखेका छन, ‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्, यस्तो विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।

२२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले १८.५ करोड अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ५१ लाख रुपैयाँ बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो । एमाले महासचिव पोखरेलले हिजो सत्ता बाहिर हुँदा ऋणको विरोध गर्ने र आज सत्तामा हुँदा त्यही ऋण सुटुक्क स्वीकारेको भन्दै वर्तमान सत्ताधारी दलमाथि प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘हिजो विरोध किन ? आज स्वीकार किन ?’

ठूलो मात्रामा विदेशी ऋण लिइएको विषयमा सरकारले जनतालाई स्पष्ट र पारदर्शी रूपमा जवाफ दिनुपर्ने महासचिव पोखरेलको माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us