काठमाण्डू, २४ चैत– कांग्रेसले सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको कांग्रेसका एक उच्च नेताले जानकारी दिए ।
सहमतिमा संसदीय दलको नेता चयनका लागि पार्टीका शीर्ष पाँच नेताबीच छलफल भइरहेको ति नेताले जानकारी दिए । उनका अनुसार सोमबार सभापति, उपसभापति र महामन्त्रीहरू बीच दलको नेता चयनबारे छलफल भएको थियो । कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने भन्दै सहमहामन्त्री प्रकाश स्नेही ‘रसाइली’ को संयोजकत्वमा निर्वाचन समिति गठन गरेको सूचना चुहिएको थियो । तर, समिति गठनको विषयलाई कांग्रेसले औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन ।
संयोजक तोकिएका सहमहामन्त्री रसाइली पनि समिति गठनबारे अनभिज्ञता जनाउँदै आएका छन् । तर, कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म दलको नेता सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत् दलको नेता चयन हुने सम्भावना अधिक देखिन्छ ।
प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगन थापाले दलको नेतामा चुनौती दिएका थिए ।
२१ फागुनमा सम्पन्न निर्वाचनमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरूलाई टिकट वितरण गर्दा देउवा र थापा दुबैको हस्ताक्षर निर्वाचन आयोगमा प्रयोग भएको थियो ।