अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ चैत २३ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, २३ चैत– एमालेको विरोध कार्यक्रममा भाग लिन गएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

२० वर्षीया अमिशालाई फेसबुकमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका–२ घर भएका २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले जानकारी दिएका छन ।

रौतहटबाट पक्राउ गरेर उनलाई काठमाण्डू ल्याएको पुष्टि गर्दै एसपी गिरीले भने– ‘आइतबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’ प्रारम्भिक सोधपुछको क्रममा चौधरीले आफूले कमेन्ट गरेको स्वीकार गरेका छन् ।

अमिशालाई यौन हिंसाजन्य कमेन्ट गर्ने अन्य आरोपीहरूको विवरण पनि साइबर ब्युरोले मेटा (फेसबुक)सँग मागेको एसपी गिरीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us