काठमाण्डू, १९ चैत– कांग्रेस सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग जाँचबुझ आयोगको प्रतिवेदन सरकारबाट सार्वजनिक हुन्छ कि हुँदैन ? भनेर प्रश्न उठाएका छन ।
आज (बिहिबार) बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै आङदेम्बेले यस्तो बताएका हुन । उनले पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोग र सरकारको नियतमाथि नै प्रश्न गर्दै यस्तो प्रश्न गरेका हुन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक पनि गर्ने कि प्रधानमन्त्रीजीले पनि गोरखापत्र पढ्ने ?’ भदौ २४ गते संसद् भवन र सिंहदरबार जलेको विषयमा आयोगको मौनतामाथि पनि उनले प्रश्न गरेका हुन ।
‘किन खरानी भयो संसद् भवन, किन जल्यो सिंहदरबार ? कसले जलायो ?’ उनले प्रश्न गरे, ‘भदौ २३ र २४ गतेका घटना एकएक केलाउन जरुरी छ ।’ उनले भदौ २३ र २४ गतेका घटनालाई हेर्ने फरक दृष्टिकोण राख्न नहुने पनि बताए ।
उनले भने, ‘कसैले २३ को घटना देख्ने, २४ को ध्वंश नदेख्ने । कसैले २४ ध्वंश नदेख्ने, २३ को दमन देख्ने । यो प्रवृत्ति एकदम गलत छ ।’ हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगलेसम्म २३ गतेको घटनाको जाँचबुझ गरेर २४ को भ्याइएन भनेको आङदेम्बेले टिप्पणी गरे ।
‘यो कस्तो तरिका हो रु पटकपटक समय थप्ने तर काम नगर्ने कुरा जाँचबुझ आयोगको नियतबाट भएको होइन भन्न सकिन्न,’ उनले भने ।