काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् ।
आज (बिहिबार) बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’ उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे ।
त्यस्तै उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने पनि बताएका छन । यसअघि सत्तामा रहेका दलहरूलाई लक्षित गर्दै उनले भने, ‘सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन । पारदर्शी परराष्ट्र नीति अब हुनेछ । यसले पहिले राष्ट्रहित सुनिश्चित हुनेछ ।’