खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक छः अच्युतम लामिछाने

काठमाण्डु टुडे २०८२ चैत १७ गते १७:१३ मा प्रकाशित

काठमाण्डू, १७ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यक रहेको बताएका छन ।

राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेलकर्मीहरूसँगको भेटघाटमा रास्वपा सांसद डा. लामिछानेले यस्तो बताएका हुन । उनले खेलकुद मन्त्रालयलाई अन्य मन्त्रालयबाट अलग गरी स्वायत्त बनाउनुपर्ने प्रश्ताव अघि सारेका हुन् ।

सांसद लामिछानेले मानिसको जन्मदेखि नै खेलकुदका क्रियाकलाप शुरु हुने भन्दै शिक्षाभन्दा खेलकुदलाई पहिलो प्राथमिकता दिनुपर्ने पनि बताएका छन । खेलकुद मन्त्रालयलाई छुट्टै अस्तित्वमा ल्याउन आफूले प्रधानमन्त्री र पार्टी सभापतिसँग विशेष पहल गर्ने उनले प्रतिबद्धता समेत जनाएका छन ।

उनले आफ्नो अध्ययनका क्रममा दक्षिण कोरियाको अनुभव सुनाउँदै लामिछानेले नेपालमा सरकारी स्तरको स्वायत्त खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि बताएका छन । सातदोबाटोमा रहेको नेपाल खेल विज्ञान प्रतिष्ठानलाई अझ बढी वैज्ञानिक र अनुसन्धानमुखी बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘मानिसले जन्मिएपछि पहिला खेलकुदका क्रियाकलाप गर्छ, त्यसपछि मात्र औपचारिक शिक्षा लिन्छ ।

त्यसैले शिक्षापछि खेलकुद होइन, खेलकुदपछि शिक्षा हुनुपर्छ, ‘मैले दक्षिण कोरियाको योङ्गीन विश्वविद्यालयमा पीएचडी गर्दा देखेँ, एउटै विश्वविद्यालयले एशियाली खेलकुदमा २८ वटा पदक जित्दा मेरो देशको नाममा एउटा मात्र पदक थियो । जबसम्म हामी छुट्टै खेलकुद विश्वविद्यालय बनाउन सक्दैनौँ, तबसम्म खेलकुदको विकासले गति लिन सक्दैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us