नुवाकोट, १५ असोज– नुवाकोटमा ब्राम्हण, क्षेत्री र दलितले एकै ठाउँमा दसैंको जमरा उमारेका छन् ।
बेलकोट गाविस–३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राहृमण, क्षेत्री, मिजार र विश्वकर्माले संयुक्त रूपमा जमरा राखेका हुन् । मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् ।
बेलकोटगढीमा रहेको मन्दिरमा बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले जानकारी दिए । ‘पुस्तौंदेखिको चलनअनुसार गाउँलेले सामूहिक जमरा राखेका हुन्’ तिवारीले भने, ‘जमरा राख्दा यो जात ऊ जात भन्ने चलन छैन ।’
सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद कम गराउन भूमिका खेलेको दलित अधिकारकर्मी बद्री मिजारले बताए । मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि रहँदै आएको बुढापाका बताउँछन् ।