काठमाण्डू महानगरले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाण्डु टुडे २०८२ चैत १७ गते १४:४६ मा प्रकाशित

काठमाण्डू, १७ चैत– काठमाण्डू महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । काठमाण्डू महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार पहिलो चरणमा नमूनाका रुपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी छ ।

उनले भनिन्, ‘त्यसका लागि कामपाले चावहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सहकार्य गर्ने छ ।’ यसअघि चार किल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा दिँदै आएकामा अब वडाबाट भूमि प्रशासन सेवासमेत सञ्चालन गर्न लागेको हो ।

भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्राप्त हुनेछन् ।

‘नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण सङ्कलन गर्ने व्यवस्था, बैङ्कमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापन पनि वडाबाटै हुनेछ,’ डंगोलले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us