ताप्लेजुङको लोनाक क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत १७ गते १३:३१ मा प्रकाशित

काठमाण्डू, १७ चैत– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमालको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित लोनाक क्षेत्रमा कामको सिलसिलामा गएका बेला लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हमाल समृद्ध पहाड संस्थामा योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा पनि कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिए । कामका लागि उच्च हिमाली क्षेत्रमा पुगेका बेला शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको उनले जानकारी दिएका छन ।

हमालको शव परीक्षणसहित आवश्यक कानुनी प्रक्रिया पूरा गर्न एभरेष्ट एयरको हेलिकप्टरमार्फत काठमाण्डू लगिएको प्रहरी निरीक्षक यादवले जानकारी दिएका छन । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us