काठमाण्डु, १५ असोज– आफ्नो ट्याक्सीमा भेटिएको पाँच लाख रुपैयाँ एक चालकले धनीलाई फिर्ता गरेका छन् । बा १ ज ११८५ नम्बरको ट्याक्सीका चालक दिनेश केसीले
रकम फिर्ता गरेका हुन् ।
आफ्नो ट्याक्सीमा खसेको पैसा लुकाउनभन्दा धनीलाई बुझाउन हतार गरेर केसी बुझाउन सोझै ट्राफिक कार्यालय पुगेका थिए । ट्याक्सी चालकले पाँच लाख रुपैयाँको बिटो बोकेर जाँदा सुरुमा महानगरीय ट्राफिक महाशाखाका धेरै ट्राफिकले विश्वासै गरेनन् । पुतलीसडकबाट बानेश्वर जाने क्रममा एक यात्रुले छुटाएको रकम लिएर उनी कार्यालयमा पुगेका थिए ।
इमान्दार ट्याक्सी चालकको भूमिका निर्वाह गरेका केसीको इमानदारीको कदर जताजतै हुन थालेको छ । पैसा हराउने काभ्रेका अच्युत गौतमले उनलाई २० हजार नगद पुरस्कार दिएका छन् । यति मात्र होइन, उनलाई धन्यवाद दिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल ट्राफिक महाशाखा नै पुगेका थिए । दुई सातापछिको प्रहरी दिवसमा १० हजार रुपैयाँ नगदसहित उनलाई सम्मान गर्ने निर्णय पनि महानिरीक्षक अर्यालले गरेका छन् ।
पुतलीसडकबाट बानेश्वर जाने क्रममा गौतमको पाँच लाख रुपैया छुटेको थियो । पुतलीसडकको सेन्चुरी बैंकबाट १९ लाख निकालेर बानेश्वरको एक बैंकमा जम्मा गर्न जाँदा उनले प्रयोग गरेको कमसल झोलाबाट पाँच लाख झरेको थियो । ट्याक्सी तथा अन्य सार्वजनिक यातायातमा हराएको तथा छुटेको सामान सर्वसाधारणले बिरलै पाउँछन् । केही सवारी चालकले भने इमान्दारितापूर्वक फिर्ता गर्ने गरेको उदाहरण केसी बनेका छन् ।
नयाँ पत्रिकाबाट