कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि

काठमाण्डु टुडे २०८२ चैत १६ गते १४:४२ मा प्रकाशित

काठमाण्डू, १६ चैत– कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर पक्षले सोमबार बधाई कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेताहरू आउने क्रम जारी रहेको छ । समूहले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।

निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुनेछ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।

गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–शेखर समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेर खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us