काठमाण्डू, १६ चैत– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा भेटिएका छन ।
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१, गैरी गाउँका ४० वर्षीय यमराज लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । गत फागुन ८ गते घर जान्छु भनेर हिँडेका लिम्बू हालसम्म सम्पर्कमा नआएको भन्दै चैत १ गते खोजतलासका लागि हुलियासहित निवेदन परेको थियो ।
सोही आधारमा खोजी कार्य गर्दै जाँदा आइतबार फक्ताङलुङ गाउँपालिका–२ मा मेथेन खोलमा सडेगलेको अवस्थामा लिम्बूको शव फेला परेको ताप्लेजुङका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिएका छन ।
घटनास्थलमा पुगेर अनुसन्धान गर्ने क्रममा मृतकको बायाँ हातमा रहेको ट्याटुका आधारमा शवको पहिचान गरिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।