विषय विज्ञताका आधारमा सांसदलाई पनि मन्त्रालयमा खटाउने रास्वपाको तयारी

काठमाण्डु टुडे २०८२ चैत १६ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई मन्त्रालयमा खटाउने भएको छ । विषय विज्ञ सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउन तयारी गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

‘तयारी भइरहेको हो, खटाइसकेको छैन । गृहकार्य गर्दै छौं,’ रास्वपाका प्रवक्ता मनिष झाले भने । सांसद भनेको भविष्यको सम्भावित मन्त्रीसमेत रहेको बताउँदै क्षमता अभिवृद्धिका लागि पनि सहयोग पुग्ने भएकाले मन्त्रालयमा सांसदलाई खटाउन लागेको रास्वपाले जनाएको छ । ‘सांसद भनेको भविष्यको मन्त्रीसमेत हो ।

उसको लागि ट्रेनिङ पनि हुन्छ,’ झाले भने । कतिपय सांसदले भने आफ्नो विज्ञता भएको मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहजीकरण र सहयोग गरिरहेका छन् ।

जनभावना अनुसार छिटो छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारेको रास्वपाको भनाइ छ । प्रवक्ता झाका अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने भएका छ ।

२१ फागुनमा भएको चुनावमा रास्वपाले झण्डै दुई तिहाइ नजिकको मत ल्याएर सरकार बनाएको हो । गत १३ चैतमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार बनेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us