काठमाण्डु, १५ असोज– हिन्दू नेपालीहरुको महान चाड बडादसैंको सातौं दिन, आज प्रत्येक नेपालीका घरघरमा फूलपाती भित्र्याइँदैछ ।
दसैँघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने चलन छ । फूलपाती भित्र्याउनका साइत आवश्यक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आजका दिन काठमाण्डुको हनुमानढो दरबारस्थित दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरदेखि काठमाण्डूको जमलसम्म काठमाण्डुबाट गएका ब्राह्मण जातिका ६ जनाले बोकेर फूलपाती ल्याउने परम्परा छ ।
आजकै दिन हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर जमलबाट हनुमानढोका पुगेर फूलपाती भित्र्याउने गरिन्छ ।
राजतन्त्रकालमा हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि संस्कृतिमन्त्री उपस्थित हुने गरेका छन् ।
घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भएपनि दसैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । बडा दसैंको दोस्रो दिन फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय बन्द हुने भएकाले घरबाट टाढा रहेका मानिसहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जाने क्रम बढेको छ ।
गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्न गरिन्छ ।