सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री बालेन

काठमाण्डु टुडे २०८२ चैत १६ गते १३:४० मा प्रकाशित

काठमाण्डू, १६ चैत– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफलमा जुटेका छन । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल सुरु गरेका हुन ।

अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको जारी रहेको प्रधानमन्त्री शाहको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री शाहको छ । ‘आज समय पुगेसम्म समूहमा छलफल गर्ने, नभ्याइएका सांसदहरूसँग फेरि अर्को दिन उहाँ (प्रधानमन्त्री) ले छलफल गर्नुहुनेछ,’ सचिवालयका एक सदस्यले भने ।

यसअघि हिजो प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा उनले मन्त्रीहरूको योजना सुन्दै कुनै अलमलमा नपरी काम अघि बढाउन भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us