काठमाण्डू, १६ चैत- १४ वर्षीया बालिकालाई घरेलु कामदार राखेर श्रम शोषण तथा शारीरिक यातना दिएको आरोप लागे पनि सत्ता र शक्तिको आडमा उन्मुक्ति पाउँदै आएकी एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राति पक्राउ परिन् ।
काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयले शर्माविरुद्ध मुद्धा नचलाउने निर्णय गरेपछि तत्कालीन काठमाण्डू महानगर प्रमुख एवं हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पीडित बालिकालाई ढाडस दिँदै पीडक दण्डित हुने समय आउने बताएका थिए ।
‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कूकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ’ बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
शर्मालाई मुद्दा चलाउनु नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डूले प्रस्तुत गरेको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयले सदर गरेको थियो । त्यतिबेला एमाले अध्यक्ष केप ओली प्रधानमन्त्री र उनले नियुक्त गरेका रमेश बडाल महान्यायाधीवक्ता थिए ।
शर्माले घरेलु कामदार लगाएकी बालिकाले आफूमाथि कुटपिट हुने गरेको गुनासो गरेपछि काठमाण्डू महानगर प्रहरी, कर्मचारी र प्रहरीको टोलीले उद्धार गरेको थियो । महानगरपालिकाले ती बालिकालाई उद्दर गरी संरक्षण गृहमा राखेको छ । उनलाई हाल महानगरले नै पढाउँदै आएको छ ।