काठमाण्डू, १५ चैत– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।
आफूले यसअघि संसदबाटै आफ्नो सम्पत्ति छानबिन गर्न भनिसकेको उनको भनाइ थियो । ‘मैले मेरोसहित सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन होस् भनेर पार्लियामेन्टमै भनेको हुँ’, उनले भने । पूर्वप्रधानमन्त्रीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसनन्धान अघि बढाउने तयारी भएको समाचारहरु बाहिरिएका बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
फरक प्रसंगमा उनले ज्यान मार्ने अभियोगमा पक्राउ परेका एमाले अध्यक्ष ओलीमाथिको छानबिन निष्पक्ष हुनुपर्ने बताए । ओलीमाथिको छानबिन राजनीतिक आग्रहपूर्वाग्रह प्रेरित नहोस् भनेर यसअघि नै आफूहरुले स्पष्ट गरिरहेको उल्लेख गरे ।