काठमाण्डु, १५ असोज–राजधानीको मरुटोलनिवासी ५७ वर्षीया बीना शाक्य पूजाका लागि सबेरै काष्ठमाण्डप परिसरमा रहेको धनुषा मन्दिर पुग्छिन ।
मानिसको चहलपहल सुरु हुनुअघि साढे पाँच बजेभित्र उनी मन्दिरबाट बाहिरिसक्छिन् । सोही टोलका धेरैलाई थाहै हुँदैन उनले मन्दिरमा पूजा गरेको । तान्त्रिक पूजा पनि गर्न सक्ने बीना वैदिक पूजामात्र गर्ने गरेको बताउँछिन् ।
गुठी संस्थानअन्तर्गतका राजगुठीमार्फत सञ्चालन हुने मठमन्दिरमा भने महिला पूजारी छैनन् । तर निजी, संस्थान र नगरपालिकाले सञ्चालन गर्ने मन्दिरमा भने महिला पूजारीले पूजा गर्दै आएका छन् ।
‘बाजेबराजुदेखि धनुषा (नास देव) मन्दिरमा पूजा गर्दै आएकाले अहिले यो जिम्मेवारी मैले समालेकी छु,’ बीनाले भनिन्, ‘भाइहरु विदेसिएपछि ६ वर्षदेखि पूजा गर्दैछु, तर मन्दिर दिनभर खोल्न सकिएको छैन ।
उचित व्यवस्थापन नहुँदा मन्दिरमा तान्त्रिक पूजा गर्न पनि सकिएको छैन् ।’
मन्दिरमा प्रत्येक वर्ष दसैंको महानवमी र विजयादशमीका दिन विशेष पूजा गर्नुपर्ने र राँगो बली दिनुपर्ने भए पनि दिन नसकेकोमा उनले गुनासो गरेकी छन् ।
अन्नपूर्ण पाेष्टबाट