अहिले सबै मिलेर मुलुक बनाउने समय : प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असोज १४ गते ९:३० मा प्रकाशित

बेल्जियम , १४ असोज – प्रधानमन्त्री सुशील कोइरालाले सबै मिलेर मुलुक बनाउने समय आएको बताएका छन् ।

sushilयुरोपेली मुलुक र इजरायलमा कार्यरत राजदूत र नियोग प्रमुखहरुलाई निर्देशन दिँदै उनले लोकतन्त्रमा बाहेक मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने भएकाले अब बन्दै गएको वातावरणलाई विकससँग जोडेर लैजान सक्नुपर्ने बताए ।

मुलुकको इज्जत बढाउने र स्वदेशमा लगानी भित्र्याउने वातावरणका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न कुटनीतिज्ञहरुलाई निर्देशन दिएका छन्।

लोकतन्त्रका लागि लामो समयसम्म आन्दोलन गर्नु परेकाले मुलुक विकासका हिसाबले पछि पर्न गएकाले प्रधानमन्त्री कोइरालाले मुलुकलाई
बर्बादीतर्फ जान दिनुहुँदैन भनेका छन्।

सबैले अपनत्व महसुस गर्ने गरी सहमतिमै संविधान लेख्ने प्रयास हुने उल्लेख गर्दै उनले अधिकतम प्रयास गर्दा पनि त्यसो हुन नसके दलहरुबीच भएको सहमतिअनुसार नै निकास खोजिनु उपयुक्त हुने धारणा राखे।

प्रधानमन्त्री कोइराललाले अथाह प्राकृतिक स्रोत साधन भएर पनि राजनीतिक स्थायित्व नहुँदा ठूलो सम्पत्तिका रुपमा रहेको नदीनाला त्यत्तिकै बगेर खेर गइरहेको बताए।

प्रधानमत्री कोइरालाले मुलुकको हितका लागि केही गर्न खोज्दा त्यसको आलोचनामात्र गर्ने सोचसमेत विकासका लागि बाधक भएको टिप्पणी गरे।

राजनीतिक दलहरुबीच जति नै मतमतान्तर देखिए पनि सहमतिबाटै संविधान जारी गरिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले लगानीका लागि अब नेपाल आकर्षक थलो हो भन्ने सन्देश प्रवाह गर्ने भूमिका निर्वाह गर्न राजदूतहरुलाई सुझाव दिए।

सो अवसरमा बेल्जियम, डेनमार्क, रसिया, जर्मनी, बेलायत, फ्रान्स, इजरायल र स्विट्जरल्यान्डका राजदूत एवम् नियोग प्रमुखहरुले आफू कार्यरत मुलुकका समस्या, दुई देशबीचको सम्बन्ध र समस्या समाधानका लागि निकट भविष्यमै ध्यान पुर्‍याउनुपर्ने विषयवस्तुका बारेमा अवगत गराएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us