कञ्चनपुर, १४ असोज – कञ्चनपुरको शङ्करपुरका बासिन्दाले खबर ओहोरदोहर गर्ने महिला चौकीदारको नियुक्ति गरेका छन् । गाउँमा हुने भेला, छलफल र बैठकमा सहभागी हुन खबर पुर्यााउन महिला चौकीदार नियुक्त गरेका हुन् ।
राना समुदायको बाहुल्यता रहेको यस गाउँका बासिन्दाले परम्परागत रुपमा गाउँमा खबर दिने चौकीदार ९चाकर० राख्दै आएका छन्। ६ वर्षदेखि निरन्तर रुपमा ३० वर्षीया पानमती राना चौकीदारका रुपमा नियुक्त भई काम गर्दै आएकी छिन्।
पानमतीले गाउँमा हुने सांस्कृतिक समारोह, विकास निर्माण, विवाह र विवादको छिनोफानो गर्न बोलाइने बैठकका लागि सर्वसाधारणलाई घरघर पुगेर निम्ता दिने र भेला गराउने कार्य गर्छिन्।
चौकीदार बन्ने उनी परिवारका एक्ली भने होइनन्। उहाँका ससुराले समेत ५० वर्षसम्म गाउँको चौकीदारको पद सम्हालेको स्थानीय कालिराम राना बताए।
उनले पैदल नै गाविसको राना समुदाय बसोवास रहेको वडा नं १, २ र ३ का ५०० भन्दा बढी बासिन्दाका घरघरमा पुगेर खबर पुर्याउँछिन्। गाउँमा खबर पुर्याएबापत उनले पारिश्रमिकका रुपमा प्रति परिबार मौसमअनुसार धान र गहुँ बीसरबीस किलो पाउँछिन्।
पारिश्रमिकका रुपमा पाउने अन्नबाट सातजनाको परिवारको जीविका चल्दै आएको चौकीदार पानमतीले राससलाई बताए।
‘पैदल नै गाउँका सबैका घरघरमा सन्देश पुर्याएबापत पाउने अन्नले वर्षभरि खान पुगेको छ,’ उनले भनिन्,‘अन्य खर्चका लागि श्रीमान्ले मजदुरी गरेर ल्याएको पैसाले धान्छौँ।’
छ कट्ठा जग्गामा घरबास र थोरैमा मात्रै खेती गर्ने र त्यसबाट तीन महिनासम्म पनि खान नपुग्ने भएकाले चौकीदार बनेर काम गर्नुपरेको उहाँको भनाइ छ। उनले भनिन्, ‘पहिलापहिला काम गर्न अप्ठ्यारो
महसुस हुन्थ्यो अब त बानी नै परिसक्यो। पुर्खाले थामेको बिँडो उठाएर काम गर्दा गर्व महसुस हुन्छ ।’
गाउँ नजिकै बग्ने दोदा नदीमा बाढीको बहाव बढ्दासमेत उहाँले सबै गाउँलेलाई सुरक्षित स्थानमा जान सल्लाह दिने गर्छिन्। भारतीय वनबाट हात्ती आएमासमेत पानमतीले खबर गरेर सघाउने गरेको स्थानीय शिवलाल रानाले बताए। ‘पानमती गाउँको चौकीदारमात्रै नभएर हाम्रा लागि पनि रक्षक हुन्,’ उनले भने।