तीन दलको बैठक निष्कर्षविहीन

काठमाण्डु टुडे २०७१ असोज १४ गते ९:०० मा प्रकाशित

काठमाण्डु, १४ असोज – संविधान निर्माणमा देखिएका विवादित विषयहरुमा सहमति खोज्ने प्रयासमा बसेको प्रमुख राजनीतिक दलहरुको बैठक पुनः अनिर्णित हुन पुगेको छ।

tin dalसिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईले सोमबार प्रस्तुत गरेको विवादित विषयमा सहमति खोज्ने अनौपचारिक प्रस्तावमा समेत कुनै पनि सहमति हुन नसकेको हो।

नेकाका उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक दिशामा केन्द्रित रहे पनि कुनै पनि विषयमा सहमति हुन नसकेको जनाए।

‘सहमति खोज्ने प्रयत्न जारी रहेको छ । संवाद समितिको बैठकमै छलफल हुन्छ । विवादित विषयलाई हल गर्ने प्रयत्न जारी रहेको छ,’उनले भने।

संविधान निर्माणको प्रमुख विवादित विषयहरुमध्ये शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा छलफल गरिए पनि हालसम्म यी विषयमा कुनै पनि औपचारिक सहमति हुन सकेको छैन।

यद्यपि, नेताहरुले भने संविधानसभाको बैठकले प्रमुख विवादित विषयमा सहमति खोज्न मंगलबारसम्मको समयसीमा निर्धारण गरेको भए पनि यही असोज २१ गतेसम्म सहमति बनाउन सकिने सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको रायअनुसार सोही अवधिसम्म प्रयत्न गरिने जानकारी दिए।

विवादित विषयमा सहमति खोज्न दलहरुले तीन दलीय कार्यदललाई जिम्मा दिएको छ। सो कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला र नेता नरहरि आचार्य, एमालेका तर्फबाट उपाध्यक्ष भीमबहादुर रावल र अग्नि खरेल र एकीकृत माओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देवकोटा सदस्य छन्।

विवादित विषयमा सहमति खोज्न सहज होस् भन्दै संवाद समितिका सभापति डा। भट्टराईले सोमबारको बैठकमा शासकीय स्वरुप, राज्य पुनःसंरचनालगायतका विषयमा प्रस्ताव राखेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us