काठमाण्डु, १३ असोज– तराईलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाएका कारण पक्राउ परेका सिके राउतलाई एक भारतीय राजनीतिज्ञले गोप्य भेटघाट गरेको खुलासा
भएको छ ।
राउतलाई भारतीय पूर्वमन्त्री तथा वर्तमान लोकसभा सदस्य शशी थरुरले भेटेका हुन् । उनी प्रमुख विपक्षी कँग्रेस आईका नेता हुन् । गत साता काठमाण्डुमा सम्पन्न एनसेल नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन आएका थिए ।
स्रोतका अनुसार थरुरले पत्रकार प्रशान्त झाको सहयोगमा महानगरीय प्रहरी परिसर काठमाण्डुको हिरासतमा राउतलाई भेटेका हुन् । उनीहरुबीच करिब १० मिनेट कुराकानी भएको स्राेतले बतायाे ।
पूर्वमन्त्रीसमेत रहेका भारतीय राजनीतिज्ञले नेपालको सार्वभौमसत्ताविरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतमा सुटुक्क भेटेको विषयलाई कुटनीतिक वृत्तमा गम्भीर रुपमा लिइएको छ । भारतीय राजनीतिज्ञलाई भेट्न दिएको प्रहरीले राउतका परिवार र आफन्तजनलाई भने उनीसँग भेटघाट गर्न दिएको छैन ।
राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको आरोपमा तीन साताअघि मोरङको रंगेलीबाट पक्राउ परेका राउत हिरासतमै आमरण अनसन बसेपछि बिरामी परेका छन् । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीले राउतविरुद्ध राज्य द्रोहको मुद्धा दर्ता गराएको छ ।