भक्तपुर, २३ फागुन- एमाले सचिव महेश बस्नेतले चुनाव हार्ने निश्चित भएसँगै जनताको निर्णय मान्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार्ने बताएका हुन् । उनले निर्वाचन परिणाम आफूहरुको अनुकुल नआएको पनि स्वीकार गरे ।
‘यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु,’, बस्नेतले भनेका छन् । बस्नेतले राजनीतिमा हार जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे ।
चुनावमा हारे जनताको सेवा गर्ने आफूहरुको प्रतिबद्धता कहिल्यै नहार्ने उनको भनाइ थियो ।
संसदमा रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बस्नेतले बताए ।