दैलेख, १३ असोज– दैलेखको तालपोखरीस्थित जंगलमा बस्दै आएका राउटेलाई यतिबेला भ्याइनभ्याई छ ।
दसैं नजिकिंदै गर्दा राउटे समुदायका पुरुष खसी र नयाँ लुगा किन्न व्यस्त छन् भने महिला चामल र भान्छाका लागि आवश्यक सामानको खोजीमा जुटेका छन् । केटाकेटी पनि आपसमा दसैंको खुसी बाँड्दैछन् ।
जंगलको बीचमा भए पनि राउटे बस्तीमा दसैंको रौनक अन्य गाउँ र सहरको भन्दा कम छैन । दसैं मनाउन उनीहरुले मुखियासँग सल्लाह गरेर सामूहिक योजना बनाएका छन् ।
केही साता पहिले प्रधानमन्त्री सुशील कोइरालालाई काठमाण्डुमा भेटेर राउटेले दसैं खर्च उपलब्ध गराउन माग गरेका थिए । सोही बमोजिम मन्त्रिपरिषदले दसैं मनाउन
राउटेका प्रति परिवारलाई १० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय दैलेखले शनिबार राउटे बस्तीमा पुगेर उक्त रकम वितरण गरेको थियो । सरकारले रकम उपलब्ध गराएपछि राउटेले दसैंका लागि खसीबोका खरिद गरिसकेका छन् । खाद्यान्न र नयाँ कपडा किन्न उनीहरु सुर्खेत र दैलेकका बजार पुगेका छन् ।