
काठमाण्डु, १३ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्न सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन् ।
संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनसन तोडाउने प्रयास गर्दा उनीहरुले सरकारले दुई अर्ब क्षतिपूर्ति दिए मात्र अनसन तोड्ने बताएको जानकारी दिएका हुन् ।
नन्दप्रसाद जीवितै छँदा यसबारे केही नबताएका गौतमले उनको मृत्युको एक सातापछि यस्तो दाबी गरेका हुन् । ‘यो सरकारले धान्न सक्ने रकम थिएन । दुई अर्ब दिन नसकेकै कारण नन्दप्रसादको ज्यान गयो, उनले भने, सरकारले निरन्तर न्याय दिलाउने प्रयास गर्दा पनि उहाँहरुले अटेर गरेर अनशन बसिरहेकाले यत्रो दु:खद घटना हुनपुग्यो ।’
अधिकारी दम्पतीलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गरिरहँदा पनि नन्दप्रसादको ज्यान जोगाउन नसकिएको बताउँदै गंगामायाको जीवन रक्षाका लागि प्रयास गरिरहेको उनले जानकारी दिए । गृहमन्त्री गौतमले संसदीय समितिलाई यस घटनाबारे विस्तृत जानकारी गराएका थिए ।
कान्तिपुर दैनिकबाट