काठमाण्डु, १२ असोज – मधेसी जनाअधिकार फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले संविधानका विवादित विषयहरुमा संविधानसभा र संबैधानिक राजनीतिक संवाद समितिले कुनै काम नगरेको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतवार गरेको साक्षात्कारमा उनले पुरानै संविधानसभाका विषयहरुलाई सहमति भयो भनेर प्रचार गर्ने गरेको भन्दै संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयमा अहिलेसम्म कुनै छलफल हुन नसकेको स्पष्ट पारे ।
साक्षात्कारमा यादवले भने–विवादित विषयमहरुमा कुनै छलफल हुन सकेको छैन । यथास्थितिमा माघ ८ गते कुनै पनि हालतमा नयाँ संविधान आउन सक्दैन । सहमति जुटाउनु पर्ने नेताहरु सबै विदेश भ्रमणमा छन । संवाद समितिमा पनि नेताहरुको न्यून उपस्थिति हुन्छ अनि कसरी छलफल हुन्छ ।
उनले नेपाली काँग्रेस र एमालेले सहमति नगरी प्रक्रियाबाट संविधान जारी गरे आफूहरुलाई कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पार्दै त्यस्तो अवस्थामा संविधानसभा छाडेर सडक आन्दोलनमार्फत नयाँ संविधान घोषणा गर्ने चेतावनी दिए ।
राज्यपुर्नसंरचनाको बटमलाईनमा तलमाथि नहुने र संघीयता सहितको संविधान चाहिने स्पष्ट पार्दै यादवले उत्तरदक्षिण संघीयताको कुरा उठाएर ठूला दलहरु संघीयताबाट भाग्न खाजेको ठोकुवा गरे ।
मुलुकको स्थायीत्वको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफूहरु भएको स्पष्ट पार्दै उनले अहिलेकै ब्यवस्थाबाट मुलुकको राजनीति स्थिर हुन नसक्ने बताए ।
यादवले डा सीके राउतले उठाएको मुद्दा असान्दर्भिक भएकोले त्यसमा आफूहरुको समर्थन नरहेको स्पष्ट पार्दै सरकारले राउतलाई पक्राउ गरेर हिरो बनाउने प्रयास गरेकोले पक्राउ र राउतको दुबै मुद्दामा आफूहरुको लागि स्विकार्य नभएको बताए ।
उनले संसदमा जारी अवरोध खोल्न सरकारले विगतमा भएको चार बुादे सहमति कार्यान्वयन गराउनै पर्नेमा जोड दिए ।
मधेसवादी दलहरुवीचको एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्दे उनले मुद्दामा एकता रहेकोले कार्यगत एकता भने हुन सक्ने बताए । उनले भने–‘‘तत्काल एकता सम्भव छैन, तर हामी अहिले कार्यगत एकता गरेर अघि बढ्न चाही सक्छौं ।’’