कतारी लगानी ल्याउन गभर्नरसँग छलफल

काठमाण्डु टुडे २०८२ माघ २७ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, २७ माघ–नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ ।

कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम ए अलोबैदेलीको नेतृत्वको प्रतिनिधिमण्डल र गभर्नर पौडेलबीचको भेटमा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा लगानी सम्भावनाका विषयमा छलफल भएको थियो ।

भेटमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी थिए ।

सो अवसरमा कतारी प्रतिनिधि मण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानीका लागि तयार रहेको बतायो ।

गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउदै नेपालले वैदेशिक लगानीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारलाई निरन्तर अघि बढाइरहेको जानकारी दिए ।

कतार चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलिले कतारी निजि क्षेत्रको नेपालमा लगानी प्रती चासो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन सूचना प्रविधि, जनशक्ति विकासका विविध क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए ।

उनले लगानीको लागि स्पष्ट रोड्म्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने धारणा राखे ।

महासंघ अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानी सहजीकरणका लागि महासङ्घ सक्रिय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्याउन सकिने ठोस सम्भावना रहेको धारणा राखे ।

उनले निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासंघ प्रतिबद्ध रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us