काठमाण्डु, १२ असोज– श्रीकृष्णपत्नी नायिका तथा कोहीनुरकी निर्मात्री स्वेता खड्का बिरामी परेकी छन् ।
बिरामी भएपछि उनी कोहीनुरको ५१ औं दिने कार्यक्रममा उपस्थित हुन सकिनन् । कोहिनुरका सञ्चार सल्लाहकार प्रकाश सुवेदीले श्वेतालाई निमोनिया भएकाको बताए ।
उनलाई भर्निक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । पतिको निधनपछि असैह्य पीडामा रहेकी श्वेता केही दिनअघि कोहिनुरको विशेष शोमा कुमारी हलमा भने उपस्थित भएकी थिइन् ।
कोहिनुरले धेरै वर्षको अन्तरालपछि ५१ औं दिन मनाउने फिल्मको रुपमा नाम दर्ता गराउन सफल भएको छ । त्यो पनि एक होइन,दुई होइन, १२ हलमा ।
२३ साउनमा राजधानी र मोफसलका करिव पाँच दर्जन हलमा प्रदर्शन भएको कोहिनुरले नेपाली चलचित्र इतिहासमै अहिलेसम्मको व्यावसायिक रेकर्ड तोडेको छ । अहिलेसम्म करिब १२ करोडको व्यापार गरिसकेको फिल्मले राजधानीका ४ र मोफसलका ८ हलमा ५१ औं दिन मनाएको हो ।