संसद् अवरुद्ध गरेर दसैं मान्न घर जाने सभासदलाई जनताले लखेट्छन्: भट्टराई

काठमाण्डु टुडे २०७१ असोज ११ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, ११ असोज– एमाले सचिव योगेश भट्टराईले संसद अवरुद्ध गरेर दसैं मान्न गाउँ जाने सभासदलाई जनताले लखेट्ने बताएका छन् ।

yogesh
नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाले शनिबार गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा भट्टराईले दसैंअद्दि नै अवरुद्ध संसद सुचारु गराउन एमाओवादीलाई आग्रह गरे ।  उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा एमाओवादीले सरकारले गर्ने कामको हिस्सा खोजेको उनको आरोप थियो ।

‘लगातार संसद अवरुद्ध गरेर दसैंमा गाउँ जाँदा जनताले लखेट्लान्’, भट्टराईले भने, ‘जनसरोकारका कुरा उठाउने थलो अवरुद्ध पारेर राजनीतिक संयन्त्रबाट राज्य सञ्चालन गर्न नखोज्नुस् ।’ यद्यपि, संविधानका विवादित विषयको टुंगो लगाउन उच्चस्तरीय संयन्त्र गठन गर्न सकिने उनले बताए ।

एमाओवादीलाई सत्ता सञ्चालनमा ठाउँ चाहिएको भए एमाओवादीसहितको राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिने भट्टराईले प्रष्ट्याए ।  भट्टराईले यसअघि एमालेले ५८ दिनसम्म संसद अवरुद्ध गरेको स्मरण गर्दै संसदमा गरिने अवरोधले जनताले केही नपाउने बताए ।

अर्को फरक प्रसंगमा उनले माघ ८ गते संविधान जारी हुन नसक्ने बताए । विवासिदत विषयमा कुरा नमिलेकाले माघ ८ मै संविधान आउँछ भनेर जनता ढाँट्ने काम गर्न नहुने उनको भनाइ छ ।

‘माघ ८ गते संविधान जारी हुन्छ भनेर जनता नढाटौ’, भट्टराईले भने, ‘कति महिना म्याद थप्नुपर्ने हो बरु त्यसबारे जनतालाई बुझाउन लागौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us