हिन्दूहरुको महान चाड दसैं सुरु, घरघरमा जमरा राखिँदै

काठमाण्डु टुडे २०७१ असोज ९ गते २:४० मा प्रकाशित

काठमाण्डु, ९ असोज– हिन्दू नेपालीहरुको महान चाड बडादशैँको पहिलो दिन आज दुर्गा भवानीको प्रतीकका रुपमा घरघरमा घटस्थापना गरी मनाइँदैछ ।

ghatasthapana
नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापना गर्ने शुभसाइत बिहान १० बजेर ४५ मिनेटमा रहेको जनाएको छ । दसैंको पहिलो दिन नजिकैको तीर्थबाट ल्याएको माटो वा बालुवामा वैदिक विधिपूर्वक पञ्चधातु सून, चाँदी, पित्तल, पलाम र तामा तथा पञ्चपल्लब पीपल, वर, आँप, डुम्री र पैंयुको पात राखी जौ र मकै छरेर घटस्थापना गर्ने गरिन्छ ।
घटस्थापनाकै दिनदेखि नवरात्री प्रारम्भ हुन्छ । परम्पराअनुसार घटस्थापनाको उपलक्ष्यमा काठमाण्डुको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वती, लगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रीको पूजा आरम्भ गरिन्छ ।
भगवान रामले रावणमाथि विजय हासिल गर्ने उद्देश्यले शक्तिप्राप्तिका लागि शक्तिस्वरुपा महामाया भगवतीको आव्हान गर्न घडाको स्थापना गरी बालुवाको चौकीमा जौ छरी पूजा आराधना गरेको विश्वासमा आ–आफ्नो पूजा कोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने चलन छ ।

सो क्रममा माटोको पूर्ण घडामा गाइको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठमा जौं वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तिस्वरुपा दुर्गा भवानीको आराधना गर्ने परम्परा छ । यसरी उमारिने जमरा विजया दशमीका दिन मान्यजनहरुबाट टिका ग्रहण गर्दा लगाइन्छ ।

जमरालाई समृद्धिको प्रतिकका रुपमा प्रयोग गर्ने गरिन्छ । यो वर्षको दसैंको टिकाको उत्तम साइत आगामी असोज १७ गते शुक्रबार बिहान १० बजेर ४५  मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us