यस्तो छ तस्करहरुले नेपालीलाई अमेरिका लैजाने नयाँ अवैध रुट

काठमाण्डु टुडे २०७१ असोज ९ गते २:०९ मा प्रकाशित

काठमाण्डु, ९ असोज– मोटो रकम लिएर नेपालीलाई अवैध रुपमा अमेरिका पुर्‍याउने मानव तस्कर गिरोहले आफ्नो रुट परिवर्तन गरेको पाइएको छ ।

america
अन्तर्राष्ट्रिय सञ्जालका रुपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाण्डुबाट कतार र ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउने गरेको थियो । अहिले भने भारत र दक्षिणपूर्वी एसियाली राष्ट्र पनि घुमाउन थालेको छ ।
पूरानो रुट धेरै प्रचलनमा आएर बीच बाटोबाटै पक्राउ पर्ने र ‘डिपोर्ट’ हुनेको संख्या बढेपछि गिरोहले नयाँ बाटो प्रयोग गर्न थालेको हो । अवैध रुपमा अमेरिका जाँदा प्रक्राउ परी डिपोर्ट गरिएका नेपालीका अनुसार नयाँ रुटमा काठमाण्डुबाट कतार लगिँदैन ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुवईलाई नयाँ ट्रान्जिन्ट बनाइएको छ । त्यहाँ पनि सोझै नलगेर भारतसहित चार देश घुमाइन्छ । नयाँ रुटअनुसार सबभन्दा पहिला काठमाण्डुबाट भारतको नयाँदिल्ली लगिन्छ । त्यहाँबाट थाइल्यान्डको बैंकक, कम्बोडिया र भियतनाम हुँदै दुवई पुर्‍याइन्छ ।

त्यसपछि दुबईबाट ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिराउने गरिन्छ । कतारले कडाइ गरेपछि तस्करहरुले नेपालीका निम्ति नयाँ रुट खोजेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us