काठमाण्डु, ९ असोज– लामो समयदेखि विवादस्पद बनेको उच्चस्तरीय राजनीतिक समिति गठन गर्न दलहरुबीच सहमति भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई समितिको संयोजक बनाउन सत्तासीन कांग्रेस–एमाले बुधबार राजी भएपछि विवाद टुंगिएको हो ।
एमालेका एक नेताका अनुसार समितिको म्याद ६ महिनामात्र राख्न र त्यसको कार्यक्षेत्र शान्ति प्रक्रियाको बाँकी कार्यभार सम्पन्न गर्न सहयोग गर्ने गरी तोक्न एमाओवादी पनि राजी भएको छ । समितिमा तीन दल मात्र रहने वा अन्यलाई पनि समेट्ने भन्ने विषय टुंगो लाग्न भने बाँकी छ ।
यसबारे बिहीबार निर्णय हुने पनि ती नेताले बताए । एमाओवादीले मधेसी दलका तर्फबाट एक र जनजाति पार्टीबाट संघीय समाजवादी पार्टीलाई पनि सहभागी गराउनुपर्ने अडान राखेको छ भने कांग्रेस–एमालेले मधेसी दललाई सहभागी गराउनुपर्ने हो भने जनआन्दोलनमा सहभागी सात दलमध्येका नेकपा माले, नेपाल मजदुर किसान पार्टी र नेकपा संयुक्तलाई पनि सहभागी गराउनुपर्ने अडान राखेका छन् ।
अन्नपूर्ण पोष्टबाट