काठमाण्डु, ६ असोज– राष्ट्रपति रामवरण यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।
उपचारमा संलग्न चिकित्सकलाई टेलिफोन गरी उनले हृदयघातपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएका शाहको अवस्थाबारे जानकारी लिएका हुन् ।
बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बर्दिया पुगेका राष्ट्रपति यादवले शाहको उपचारमा संलग्न डा. भरत रावतलाई टेलिफोन गरी शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
‘मलाई फोन गरेर पूर्वराजाको अवस्थाबारे जानकारी लिनुभयो’, रावतले काठमाण्डु टुडेसँग भने, ‘आफू बर्दिया भएका कारण भेट्न आउन नसकेकामा दु:ख मान्नुभएको छ ।’ रावतका अनुसार राष्ट्रपति यादवले शाहको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
हृदयघातका कारण शनिबार राति नर्भिक अस्पताल भर्ना भएका शाह स्वास्थ्यमा सुधार भएपछि सोमबार डिस्चार्ज भएका छन् ।