प्रचण्डलाई संयोजक नबनाएसम्म संसद खुल्दैन : शर्मा

काठमाण्डु टुडे २०७१ असोज ६ गते ९:१५ मा प्रकाशित

काठमाण्डु, ६ असोज – एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नबनाएसम्म संसदमा जारी अवरोध नखुल्ने स्पष्ट पारेका छन् ।

dinanathरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता शर्माले विगतमा गरेको चार बुँदे सहमति कार्यान्वयनमा ईमान्दार नदेखिएकोले काँग्रेस र एमाले संविधान नबनाउन तर्फ लागेको आशंका उत्पन्न भएको भन्दै विश्वासको बातावरण बनाउन पनि संयन्त्रको संयोजक प्रचण्डलाई नै बनाउनु पर्नेमा जोड दिए ।

साक्षात्कारमा शर्माले भने– ‘‘ प्रतिपक्षको भावनालाई सम्मान गर्दै सहमति कार्यान्वयन गरे मात्रै विश्वासको बातावरण बन्छ । सहमती गर्ने अनि कार्यन्वयन नगर्ने प्रवृत्तिले सत्तारुढ दल संविधान बनाउनेमा त्यति जिम्मेवार नभएको भान हुन्छ ।’’

शर्माले संविधानसभा मार्फत तोकिएकै मितिमा संविधान निर्माण गर्नुपर्नेमा जोड दिँदै बाहिरका शक्तिहरुलाई समेत सहमतिमा ल्याएर सहमतिको संविधान बनाउनुपर्ने भएकोले प्रचण्डको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।

नेपाली काग्रेसका नेता आनन्दप्रसाद ढुङगानाले उच्चस्तरीय राजनीतिक समिति बनाउन आफूहरु तयार भएपनि संयोजक आलो–पालो पद्धतिबाट गर्नु पर्ने धारणा राखेका छन् ।

उनले आलोपालोमा पहिलो संयोजक प्रचण्डलाई बनाउन आफूहरु तयार रहेको स्पष्ट पार्दै संयन्त्रले संविधानसभाको काम कारवाहीलाई भने प्रभावित पार्न नहुनेमा जोड दिए ।

ढुङगानाले डा. बाबुराम भट्टराई नेतृत्वको राजनीतिक संबाद समितिको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र विवादित विषयहरुमा सहमतिको नजिक पुगिसकेको जानकारी दिदै तोकिएकै मिति माघ ८ गतेभित्रमै सहमतिको संविधान आउने विश्वास ब्यक्त गरे ।

उनले संविधानलाई सहमतिको दस्तावेज बनाउन तयार रहेको स्पष्ट पार्दै नेकपा–माओवादीले राजनीतिक सम्मेलन बहिस्कार गरेर गल्ती गरेको बताए ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले प्रतिपक्षी एमाओवादी जिम्मेवार नभएको भन्दै उसले आफ्नो भावना पुरा गर्नका लागि मात्रै संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सान्दर्भिकता नभएको भन्दै ज्ञवालीले यसले कुनै पनि हालतमा संविधानसभाको क्षेत्राधिकारलाई प्रभावित पार्न नहुने जिकिर गरे ।
उनले भने– ‘‘संयन्त्र बनाउने भए पनि नेतृत्वमा आलोपालो, ठूला तीन दलको मात्रै सहभागिता र संविधानसभाको काम कारवाहीलाई प्रभावित पार्नु हुँदैन । प्रतिपक्षको हैसियतले पहिलो नेतृत्व प्रचण्डलाई दिन तयार छौ । ’’

ज्ञवालीले सर्वपक्षीय राजनीतिक सम्मेलन बहिस्कार गरेर नेकपा–माओवादीले गंभिर भुल गरेको भन्दै अब उसलाई नकुरी प्रक्रियाबाट संविधान दिने स्पष्ट पारे । यद्यपि उनले बार्ताको ढोका भने बन्द नभएको समेत बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us