जनकपुर, ६ असोज– सात महिनाका नाबालकलाई अपहरण गरी बिक्री गर्ने चार जना पक्राउ परेका छन् ।
बालिका अपहरण गरी एक लाखमा बिक्री गरेका उनीहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी–८ का शत्रुधन यादव, धनुषा औरही–९ का राजेश मण्डल, झोझीकटैया–६ का किशोरी मण्डल र सोही गाविस–८ का गुलिया पासवान छन् ।
उनीहरुले सवैला–१ का प्रकाश मण्डलको ७ महिने छोरा मंगललाई अपहरण गरी बिक्री गरेको प्रहरी उपरीक्षक गणेशबहादुर थापाले बताए । प्रकाश जनकपुर–७ स्थित मिथिला आश्रममा रहेका कुष्ठरोगीको रेखदेख गर्थे ।
उनीहरुले २०७० माघ ७ गते राति सात महिने बालकलाई अपहरण गरी महोतरी हरिनमरिन गाविस–१ अजगेवाकी सुनिता महरालाई बिक्री गरेका थिए ।
प्रहरीले बेचिएका बालकलाई पनि उद्दार गरेको छ । बालक अहिले १५ महिनाका भएका छन् । प्रहरीले पक्राउ परेका चारै जनामाथि मानव बेचबिखन तथा ओसारपोसारको अभियोगमा मुद्दा चलाएको छ ।