पेट्रोलियम पदार्थको मूल्यमा हेरफेरः डिजेल र मट्टीतेलमा घट्यो, हवाई इन्धनमा बढ्यो

काठमाण्डु टुडे २०८२ कार्तिक १४ गते २१:२५ मा प्रकाशित

काठमाण्डू, १४ कात्तिक– नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्य घटाएको छ भने केहीमा बढाएको छ ।

भारतीय आयल कर्पोरेशन (आइओसी) ले पठाएको मूल्य सूचीमा मूल्य हेरफेर भएर आएपछि निगम सञ्चालक समिति बैठकले शनिबारदेखि बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

भारतबाट नयाँ मूल्य सूची आएसँगै डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रूपैयाँ मूल्य घटेको छ । पेट्रोलको मूल्य भने पुरानै कायम छ ।

हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७ अमेरिकी डलर बढेको छ ।

निगमका अनुसार आइओसीले पठाएको मूल्यसूचीमा पेट्रोलको मूल्य ०.०३ रूपैयाँ र हवाई इन्धनको ०.८६ रूपैयाँले वृद्धि भएर आएको छ । यस्तै डिजेलको १.१९ रूपैयाँ घटेको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४३ रूपैयाँ मूल्य कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डू, पोखरा र दिपायल क्षेत्रमा डिजेल र मट्टीतेलको प्रतिलिटर १४४ रूपैयाँ कायम भएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय २८ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाण्डूमा अमेरिकी डलर ९७३, पोखरामा ८०३ र भैरहवामा ७९० कायम गरिएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us